काठमाडौं, असोज ४ गते । विद्यालय शिक्षा ऐनको विरोधमा शिक्षकहरुले आज (बिहीबार)पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर आज दोस्रो दिन पनि प्रदर्शन गरेका हुन् ।
शिक्षकहरुको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघरमा जारी प्रदर्शनका कारण बानेश्वर, बिजुलीबजार र थापाथली सडकमा सवारीसाधन जाममा परेका छन् ।त्यस्तै, आजै सरकारले शिक्षकहरुसँग पहिलो चरणको छलफल गरेको छ । आज बिहान गृह मन्त्रालयमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिक्षकहरुले छलफल गरेका थिए । छलफलमा गृहमन्त्री श्रेष्ठले तत्काल वार्ताबाट समाधान खोज्न शिक्षकहरुलाई अनुरोध गर्नुभएको छ ।
साथै आन्दोलनले सर्वसाधारणलाई समस्या भएको भन्दै आज कार्यालय लाग्ने दिन भएकाले आन्दोलनको रुट परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले शिक्षकहरूसँग अनुरोध गरेको छ । तर शिक्षकहरूले आज पनि बुधबारकै रुट प्रयोग गर्ने र शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ । बुधबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरी समितिले काठामाडौं केन्द्रित प्रदर्शन सुरु गरेको हो।
गोरखापत्र
प्रतिक्रिया