काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) र आइएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) बीच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार आईएमई डिजिटल सोलुसन लिमिटेड अबको दुई वर्षका लागि नेपाल क्रिकेट सङ्घले देशभित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ पार्टनरका रूपमा रहने छ ।
सम्झौता लागू भएसँगै आउँदो दुई वर्ष नेपाल क्रिकेट सङ्घले नेपालमा आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरूको फिजिकल र अनलाइन टिकेट बिक्रीको जिम्मेवारी पनि आईएमई पे ले पाएको छ । काठमाण्डाैमा आज बिहीवार एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झाैता पत्रमा क्यानकाे तर्फबाट सचिव पारस खड्का र आईएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गर्नुभएको थियो ।
क्यानका सचिव खड्काले आईएमई पेसँगको यो साझेदारीले नेपाली क्रिकेटको बहुआयामिक विकासमा सहयोग पुग्ने बताउनुभयो । ‘नेपाली क्रिकेटको स्तर वृद्धि र दिगो विकासका लागि आउँदा दिनहरूमा हामीले अन्तर्राष्ट्रिय टोलीसँग धेरै भन्दा धेरै खेलहरू खेल्नुपर्ने अवस्था रहेको छ । यसैबीचमा आईएमई पेजस्तो संस्थाले नेपाली क्रिकेटमा लगानी गर्ने निर्णय गर्नु हामी सबैका लागि खुसीको खबर हो । यो साझेदारी बनाउने मौका दिनुभएकोमा म मेरो व्यक्तिगत र सिङ्गो नेपाल क्रिकेट सङ्घको तर्फबाट धन्यवादसमेत ज्ञापन गर्न चाहन्छु’, उहाँले भन्नुभयाे ।
नेपाली क्रिकेटको विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित महसुस भएकाे आईएमई पेका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताउनुभयाे ।
यसैगरी आईएमई ग्रुपले क्रिकेटर करण केसी र सोमपाल कामीलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । आईएमईले खेलाडीको मनोबल बढाउन प्रतिबद्ध रहेको भन्दै नयाँ ब्रान्ड एम्बेसडरहरूमार्फत आईएमई ग्रुपको साख बढाउन सहयोग पुग्ने विश्वास लिएको बताएको छ । सम्झौता अनुसार करण र सोमपालले समान पाँच लाख रुपैयाँ पाउनेछन् ।
(उज्यालो नेट्वोर्क)
प्रतिक्रिया