संयुक्त राष्ट्र सङ्घले गाजा क्षेत्रमा तत्काल युद्धविराम गर्न इजरायलसँग आग्रह गरेको छ ।
गाजा क्षेत्रमा राहात व्यवस्थापनको काम गर्दै आएको राष्ट्र सङ्घीय निकायले यदि युद्ध विराम नगरेमा गाजामा राहातका कार्यक्रम रोक्नुपर्ने अवस्था आएको बताएको बीबीसीले जनाएको छ ।
इजरायलले शुरु गरेको स्थलगत आक्रमणसँगै राहात वितरण कार्य असुरक्षित भएको राष्ट्रसङ्घको भनाइ छ । इजरायली सेनाहरु स्थलगत मार्गबाट उत्तरी गाजामा प्रवेश गरिरहेका छन् ।
यस्तै, गाजा क्षेत्रमा शासन गर्दै आएको विद्रोही समूह हमासले युद्धविराम नभएसम्म बन्धक बनाइएकालाई रिहाइ नगर्ने घोषणा गरेको छ ।
रुसको भ्रमणमा रहेको हमास प्रतिनिधिमण्डलका एक सदस्यले अक्टोबर ७ को आक्रमणमा बन्धक बनाइएकालाई रिहाइ गर्न नसकिने बताएका बीबीसीले जनाएको छ । अहिले २ सय २९ जना हमासको कब्जामा रहेका इजरायलले जनाएको छ ।
गाजामा बन्दी बनाइएका चारजनालाई हमासले रिहा गरिसकेको छ ।
(उज्यालो नेट्वोर्क)
प्रतिक्रिया