चिसोबाट जोगिन उनीहरुले आवश्यक लत्ता कपडा पाउन सकेका छैनन् । सरकारले पहिलो चरणको उद्धारको काम समयमै गरे पनि राहत र पुन:स्थापनामा ढिलाइ भइरहेको छ । अति विशिष्ठ, विशिष्ठ, नेता कार्यकर्ता तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, जनप्रतिनिधिहरु प्रभावित क्षेत्रमा पुग्ने क्रम रोकिएको छैन । दिनहुँजसो उनीहरुको भिड लाग्ने गरेको छ । तर, प्रभावितलाई राहत भने पुग्न सकेको छैन ।

राहत वितरण भएका कतिपय ठाउँमा समेत भेदभाव भएको पीडिहरुले बताएका छन् । राजनीतिक पहुँचका आधारमा राहत वितरण भएको भन्दै पीडितहरुले गुनासो गरेका जाजरकोटका उज्यालो सहकर्मी बालकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आआफ्नो जिल्ला र निर्वाचन क्षेत्रलाई केन्द्रित गरी राहत बाँड्ने गरेको पाइएको छ ।

यस्तै, विशिष्ठ व्यक्तिहरुको लर्को लाग्दा पनि राहत वितरण प्रभावित भएको छ ।  राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मीहरु उनीहरुको सुरक्षामा खटिने गरेका छन् । यसले गर्दा उद्धार र राहतका काममा असर पर्न थालेको हो । भूकम्पले घर भत्किएपछि प्रभावितहरुले घरबाट सामान निकाल्न पाएका छैनन् । खुला ठाउँमा बसेका सुत्केरी, गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगीहरु बढी मर्कामा परेका छन् ।

सडक छेउछाउमा केही राहत पुगे पनि ग्रामीण र दुर्गम क्षेत्रमा राहत पुग्न नसकेको रुकुम पश्चिमबाट उज्यालो सहकर्मी राजु लामिछानेले जानकारी दिनुभयो । गएको शुक्रवार मध्यराति जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा हजारौँ परिवार घरबासविहीन भएका छन् ।