November 22, 2024, 3:41 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

धनकुटामा लाखे नाच

भदौ १६, २०८० मा प्रकाशित | ५२ पटक पढिएको संबाददाता

Spread the news

धनकुटा — धनकुटा नगरपालिका–१ हिले बजारका सुवेन शाक्य लाखे नाच्न निपुण छन् । विद्यालय बिदामा मुकुन्डोसहितको पहिरनमा उनी बजारमा नृत्य कौशल प्रदर्शन गर्छन् । उनी मात्र होइन, पछिल्लो समय लाखे नाचप्रति किशोरहरूको आकर्षण बढ्दो छ । स्थानीय विद्यालयमा कक्षा तीनमा अध्ययन गर्ने सुवेन ठूलालाई देखेर यसतर्फ आकर्षण बढेको बताउँछन् ।

‘मलाई धेरै मन पर्छ,’ उनले भने, ‘सबैले फुच्चे लाखे भन्दै माया गर्दा खुसी लाग्छ ।’ तर ठूला मान्छेकै झन्डै चार किलोग्राम तौलको मुकुन्डो लगाएर नाच्दा गाह्रो हुने सुनाए । अनुहारमा कपडाको ठूलो फेटा गुथेर मुकुन्डो अटाउने गरिएको छ ।

उता १५ वर्षीय सानो श्रेष्ठ पनि उस्तै निपुण छन् । गत वर्ष तालिम लिएपछि लाखे नाच्न थालेको बताए । ‘सबैले आफूलाई हेर्ने भएकाले नाच्दा रमाइलो लाग्छ,’ उनले भने, ‘लाखे नाचेपछि बडाहरूले पैसासमेत दिनु हुन्छ ।’ नेवार समुदायको विशेष नृत्य लाखेप्रति अन्य समुदायको पनि रुचि बढ्दो छ । यो नृत्य जान्ने स्थानीय इभानजंग राना मगरले साथीभाइले नाचेको देखेर आकर्षित भएको बताए ।

नेवारी संस्कृति जोगाउन बाजा बजाउनदेखि नृत्यकलाको प्रशिक्षणसमेत दिइएपछि यसतर्फ पछिल्लो पुस्ताको ध्यान तानिएको झिगु नेवाः समाजका अध्यक्ष दिजेश शाक्यले बताए । ढाँ अर्थात् ढोल र झ्याम्टालगायतका बाजासँगै गीतसमेत गाएर लाखे नाचको रौनक थपिन्छ । हिलेमा करिब एक दशक पहिलेदेखि मात्र लाखे नाच्न थालिएको झिगु नेवा समाजका सचिव सन्तोष श्रेष्ठले बताए । ठाउँअनुसार लाखे नाचको सुरुवात फरकफरक दिनमा हुने गरेको छ । धनकुटा बजार क्षेत्रमा घण्टाकर्ण अथवा गठेमंगलदेखि नाचिन्छ । हिलेमा नाग पञ्चमीदेखि लाखे नाच सुरु गरिएको हो ।

धनकुटा बजार क्षेत्रमा पुस्तौं पहिलेदेखि लाखे नाचिँदै आएको नेवा दे दबुका नगर अध्यक्ष रोशन श्रेष्ठ बताउँछन् । धनकुटामा घण्टाकर्णदेखि यो नाच सुरु गरिन्छ । यो नाच आगामी कृष्ण जन्माष्टमीमा समापन हुन्छ । उनका अनुसार ५० वर्ष उमेरसम्मकाले लाखे नाच्ने गरेका छन् । धनकुटाको सिधुवा, पाख्रिवास, मूलघाटलगायतका स्थानमा समेत लाखे नाचिन्छ । घरदैलोमा नाच प्रदर्शन गरेपछि पैसा दिइन्छ । त्यसैले पैसाका लागि मात्र नभएर संस्कृति जोगाउनलाई लाखे नाच्नुपर्नेमा आफूले जोड दिँदै आएको अगुवाहरू बताउँछन् । कंशले कृष्णलाई मार्न बहिनी पुतनालाई प्रयोग गरेकाले त्यसबाट रक्षा गर्न कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच सुरुवात गरिएको किंवदन्ती छ ।

खासगरी नागपञ्चमीदेखि ऋषिपञ्चमीसम्म नाच प्रदर्शन गरिन्छ । राक्षसको खप्पर र कालिकाको वस्त्रसहित सिँगारिएर लाखे नचाउने मान्यता राखिएको नेवा झिः पुचका अध्यक्ष शाक्य बताउँछन् । धनकुटामा लाखे नचाउन संखुवासभाको चैनपुर र सुनसरीको धरानलगायतबाट समेत ल्याउने गरिन्छ ।

  • From: Ekantipur.com 

प्रतिक्रिया