January 18, 2025, 7:38 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द

भदौ ३१, २०८० मा प्रकाशित | ६१ पटक पढिएको संबाददाता

Spread the news

 

 

काठमाण्डाै – हेटौँडाको सञ्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।

सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल  कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ । गएको २७ गते सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।

कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । सङ्घले घटनामा संलग्न दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ ।

सङ्घले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनामा संलग्न चार जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिसकेको जनाएको छ । दोषी सबैलाई पक्राउ नगरिएको सङ्घले आरोप लगाएको छ ।

दोषीलाई कारबाही नगरे थप आन्दोलन गर्ने सङ्घका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले बताउनुभयो । देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन्।

प्रतिक्रिया