सुर्खेत, असोज ९ गते । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कार आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना १८ वर्षभन्दा कम उमेरका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख योगेन्द्रसिंह थापाका अनुसार बिहीबार साँझ छिमेकीको घरमा नाचगान हेर्न गएका बेला बालिका बलात्कारमा पर्नुभएको हो । बलात्कार आरोपमा पक्राउ परेका चारै जना पञ्चपुरी नगरपालिकाका हुन् । पक्राउ परेका एक जना युवा १९ वर्षका छन् । ती चारै जनाले फरक फरक स्थानमा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चारै जनाले योजनाबद्ध रूपमा बलात्कार गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका चार जनालाई मुद्दा दर्ता गरेर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी प्रमुख एसपी थापाले जानकारी दिनुभयो ।यसै गरी १३ वर्षीय बालिकालाई अपहरण गरी काँक्रेविहारको जङ्गलमा लगेर बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगरको एक निजी स्कुलमा अध्ययनरत १३ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–३, पानीखोलाका २५ वर्षीय भक्तिराम कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीका अनुसार भदौ ३० गते बिहान स्कुल जान लागेकी बालिकालाई कँडेलले अपहरण गरेर टेम्पोमा राखेर काँक्रेविहारको जङ्गलमा लगी बलात्कार गरेका थिए । काँक्रेविहार जङ्गलमा पु¥याएपछि बालिकालाई कुटपिट गर्दै बलात्कार गरिएको प्रहरीको भनाइ छ ।
कँडेल शुक्रबार बेलुका पक्राउ परेपछि एक वर्षअघिको अर्को बलात्कार घटनाको फाइल पनि खुलेको छ । प्रहरीका अनुसार २०७९ कात्तिक ९ गते पूर्वी सुर्खेतकी एक युवतीलाई विवाहको प्रलोभनमा पारी वीरेन्द्रनगर ल्याएर एक होटलमा बलात्कार गरेर फरार भएको प्रहरीले जनाएको छ । सुर्खेतमा मात्रै नभएर दैलेखमा पनि कँडेलले यस्तै प्रकृतिका घटना गराएको डिएसपी शाहीले बताउनुभयो ।
(गोरखापत्र)
प्रतिक्रिया