January 18, 2025, 5:11 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

पर्यटक बोलाउन पदयात्रा

माघ ३, २०७७ मा प्रकाशित | ४८७ पटक पढिएको संबाददाता

Spread the news

तनहुँ । कोरोना भाईरस संक्रमणका कारण थलिएको पर्यटन व्यवसाय तंग्रन अझै सकेको छैन् । विस्तारै बामे सार्ने क्रम चलेको छ । ग्रामिण पर्यटनको पर्याय घरबास (होमस्टे) पनि सुनसान नै देखिन्छन् । यहाँको एक होमस्टेले भने पर्यटक डाक्नलाई पदयात्रा गराएको छ । भिमाद नगरपालिका–९ भानुमतीस्थित पाथर्दी सामुदायिक होमस्टेले शुक्रबार १७ किलोमिटर दुरीमा पदयात्रा गराएको हो । भिमादको कुमारचोकबाट सुरु भएको पदयात्रा धन्धुर सिद्धगुफा, चमेरेगुफा, मोहोरिया, ईलुङ छहरा हुदैँ पाथर्दी गाउँमा पुगेर टुंगिएको थियो । पदयात्रामा आन्तरिक पर्यटकले उल्लेख्य सहभागिता जनाए । आन्तरिक पर्यटकसंगै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापा पनि पदयात्रामा सहभागि बने ।

मन्त्री गुरुङले देशका प्रचलित सामुदायिक होमस्टेभन्दा पाथर्दी फरक ढंगले अगाडी बढेको जनाए । उनले भने, ‘यही फरकपनले नै पाथर्दी सामुदायिक होमस्टे स्थापित बन्नेछ ।’ होमस्टेमा आउने पाहुनालाई अर्गानिक खानपान र मौलिक संस्कृति देखाउनुपर्नेमा उनको जोड थियो ।
कोरोनाले ठप्प पर्यटनलाई चलायमान बनाउन पदयात्रा आयोजना गरेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलले बताए । ‘कोरोनाले विश्वको पर्यटन क्षेत्रलाई निकै प्रभाव पा¥यो । नेपालका गाउँ–गाउँमा सञ्चालन गरिएका होमस्टे पनि प्रभावित नै रह्यो’, उनले अगाडी भने, ‘पर्यटनको गतिविधी बढाउदै पाथर्दी होमस्टे कोरोनाबाट सुरक्षित छ भनेर पर्यटकलाई डाक्न पदयात्रा गराएका हौँ ।’ पदयात्राले आशा जगाएको आलेको भनाई छ ।

पाथर्दी गाउँले बोयर बाख्राको पकेट क्षेत्रको रुपमा देश विदेशमा ख्याती कमाएको छ । गण्डकी प्रदेश सरकारको महत्वकांक्षी कार्यक्रम मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषी गाउँको शुभारम्भ यसै गाउँबाट भएको हो । बाख्रा पालनका लागी देशभरका किसान अध्ययन अवलोकनका लागी आउन थालेपछि उत्साहित भएका स्थानियले २०७५ सालदेखी होमस्टे सञ्चालनमा ल्याएका हुन् । कृषी र पशुपालनलाई पर्यटनसंग जोड्दै आत्मानिर्भरता बाटो रोजेको आलेले बताए । बाख्रापालनसंगै सिद्धगुफादेखी पाथर्दीसम्मको जिदी खोलाको किनारै किनार पहिचान गरिएको पदमार्गले पनि पर्यटकलाई आकर्षित गर्ने उनको दाबी छ ।

पदमार्गमा पर्ने देशभरका एक सय उत्कृष्ट गन्तव्यमा सुचीकृत सिद्धगुफा अनौठो छ । ९ तलासम्म दाबी गरिएपनि चार तलासम्म पर्यटक उक्लन सक्छन् । गुफाभित्र चकित पार्ने आकृतिहरु छन् । पछिल्लो समयमा गुफा परिसरमा पुर्वाधार थपेर प्रवेशद्धारबाटै चिरिच्याट्ट पारिएको छ ।
सिद्ध गुफासंगै नेपालकै लामो दाबी गरिएको चमेरो गुफा छ । चमेरो गुफा तीन किलोमिटर लामो रहेको बताइन्छ । गुफाभित्र हजारौँको संख्यामा चमेरा छन् । चमेरेको गुफाको विशेषता हो पातालगंगा । गुफाको १० मिटर भित्र पसेपछि दायाँतर्फबाट नदी सुसाँउछ । ८० मिटर पर पुगेपछि वायँतर्फ नदीको आवाज सुनिन्छ, तर दखिदैन् । सिद्ध गुफा र चमेरो गुफाको बीचमा हावाको लहरी समेत चल्ने स्थानियहरु बताउँछन् ।

त्यहाँबाट जंगलको उकालो लागेपछि चराचुरुङ्गीको चिरविराहवटले मन छुन्छ । जिदी खोला सुसाएको सुन्दै मोहेरियामा ढुंगाको आकर्षक दृश्य घाङ्चल्हुम हेर्दै इलुङ झरना पुगिन्छ । क्यानोनिङको सफल परिक्षण भएको इलुङ झरना पनि मनमोहक नै छ । इलुङ झरनाको माथीपट्टी पाथर्दी गाउँ पर्दछ । जहाँ मगर र गुरुङ समुदायको बसोबास छ । पाथर्दी पुगेका पाहुनलाई यहाँका युवायुवतीले साँझपख कौराहामा छमछमी नचाउँछन् । स्थानिय खानपान चखाउछन् ।

एक दिने पदयात्राका लागी उपयुक्त यो पदमार्गले पर्यटकलाई लोभ्याउने वडाध्यक्ष इमानबहादुर थापाले बताए । पदमार्गमा नगरपालिका र प्रदेश सरकारसंगको सहकार्यमा फुटट्रयाक निर्माण गर्ने योजनामा रहेको उनले बताए । ‘बगैचासहितको फुट ट्रयाक निर्माण गर्ने योजना छ । आपतकालिन अवस्थामा फुटट्रयाकबाटै एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी चलाउन मिल्नेगरी’, उनले भने । फुटट्रयाक बनाएपछि प्रचाप्रसारलाई तिब्र बनाएर अत्याधिक आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको उनको भनाई छ ।

 

 

प्रतिक्रिया